सहकार्यका लागि अनुरोध
आदरणीय दाजुभाइ-दिदीबहिनीहरु
मदरल्याण्ड नेपाल तपाईंको आँखाअगाडि छ । वेबसाइट त तपाईंको कम्प्युटरको पर्दामा छ नै मदरल्याण्ड नेपाल नामको संस्था र यसका गतिविधि तपाईंको मनको पर्दामा अंकित भएको हुनुपर्छ भन्ने विश्वास मेरो छ । यस विश्वासका आधारहरु पनि छन्- मदरल्याण्ड नेपालले जब पीडित नेपालीको उत्थानका लागि तपाईंलाई सम्झदै आएको छ तपाई आपुनो सद्भाव बोकेर खडा हुनुभएको छ ।
यसको जन्मकालदेखि नै नेपाली पत्रकारमाथि आक्रमण भएको बेलामा होस् वा कुनै मजदूर उपचार सुविधा नपाएर तड्पिरहेको क्षणमा होस् कोही बाढीमा परेको समयमा होस् वा महिलाका विशेष खाले रोगको उपचारका लागि आर्थिक सहायता जुटाउनका लागि होस् मदरल्याण्ड नेपालमार्फत सहयोग गर्नका लागि तपाईं उदार चित्त लिएर उभिनु भएको छ । यसरी उभिदा तपाईंको हातमा आ-आपुनो गच्छअनुसारको दान-रकम तपाईंको हातमा देखिने गरेको छ । सन् २००३ देखि निरन्तर रुपमा तपाईंहरुले यो र यस्तै तरिकाले मदरल्याण्ड नेपाललाई सघाउँदै आउनु भएको छ । तपाईंको यस सहयोगको म उच्च मूल्यांकन गर्दै सम्मान गर्दछु मदरल्याण्ड नेपाल सदा आभार प्रकट गर्दछ ।
मदरल्याण्ड नेपालले यस वेबसाइटलाई एक विद्युतजन्य अखबारको रुपमा विकास गर्ने योजना बनाएको छ । ताजा समाचार र विचार समेट्ने सोच बनाएको छ । योजना र सोच मात्र होइन त्यसलाई दैनिक जीवनमा प्रयोग गर्ने तत्परता पनि देखाएको छ । वास्तबमा म यही सोच श्रद्धेय पाठकसमक्ष निवेदन गर्ने मानसिकताका साथ यो अनुरोधपत्र सबैका लागि सादर जानकारी गराउँछु ।
यस संसारमा जन्म लिएपछि मानवले समाज र समुदायका लागि केही योगदान दिनैपर्छ । अन्यथा हाम्रो मृत्यु एक बेसहारा जनाबरको जस्तो हुनपुग्छ । जन्मेपछि मर्नु हरेक प्राणीको अनिवार्य नियति हो । बाँचेकै समयमा वा हातखुट्टा चल्दाचल्दै केही गर्न सकिएन भने मृत्युशय्यामा परेपछि पछुताएर मात्र केही कुनेवाला छैन । सामाजिक कार्यमा जीवनको केही अंश नलाई मृत्युको निकट पुग्नु बेबकुफी मात्र हुनजान्छ । जीवनलाई सार्थक बनाउँन थोपा-थोपा मिलेर सागर बन्छ भन्ने भनाइलाई जीवनमा उतार्नु आवश्यक हुन्छ । सामाजिक क्षेत्रमा लागेको व्यक्तिलाई देखेर र साधा जीवन उच्च बिचारको प्रश्रय गरेर जसले समाजमा मेलमिलाप कायम गर्न योगदान दिइरहेको छ वस्तुतः उसकै जीवन सार्थक हुने कुरामा आशंका छैन ।
एकातिर मुलुक राजनीतिक अस्थिरताको शिकार भएको छ । ठूलो रकम हात नलागेसम्म समाजसेवी बन्ने र कुनै रकम हातमा आउनासाथ धैर्य नगर्ने परिस्थितिले समाजलाई नै अपाहिज बनाएको छ । यस अवस्थाबाट समाजलाई माथि उठाउन प्रवास वा स्वदेशमा रहेका नेपालीले एकता देखाउनु आवश्यक हुन्छ । म चाहन्छु मदरल्याण्ड नेपाल र यसको समाचार-वेबसाइट तपाईंका सहयोगी हातहरुका लागि उपयोगी माध्यम हुनसकोस् । यसलाई परिमार्जित गर्न पृष्ठपोषण दिन र सुधारका लागि सुझाब दिन म यसै पत्रमार्फत सबैमा सादर अनुरोध गर्दछु ।
आउनोस् मदरल्याण्ड नेपाललाई अझ उचाइमा पुर् याउन र यसलाई आम नेपाली समुदायका लागि सहायक बनाउन एकजुट बनौं ! नेपालीका लागि उपयोगी समाचार तथा आलेख संकलन र सम्प्रेषण गर्न सघाऊँ !
मदरल्याण्ड नेपालको वेबसाइटलाई नेपाली समुदायको समृद्धिमा सहायक बनाऔं !